Home / News & Events / महामारीमा निजी क्षेत्र : सहयोगमा खुलेर जुट्न थाल्यो, कतै आइसीयू, कतै आइसाेलेसन निर्माण

महामारीमा निजी क्षेत्र : सहयोगमा खुलेर जुट्न थाल्यो, कतै आइसीयू, कतै आइसाेलेसन निर्माण

August 17, 2023

काठमाडौं । कोभिडको पहिलो लहरमा एक वर्षअघि नेपालको निजी क्षेत्रले खुलेर सरकारलाई मात्र सहयोग गरेन् अभावमा रहेका नागरिकलाई पनि राहत जुटाउन लाग्यो । 

कोभिडको दोस्रो लहर भयंकर भएर आयो, पहिलाको भन्दा अवस्था सामान्य थिएन । पहिलो चरणमा सहयोग गरेका व्यापारिक घराना, व्यवसायी र निजी क्षेत्रको संस्थाहरु आफै अन्योलमा परे । सरकारले घोषणा गरेको निषेधाज्ञाको पहिलो साता मौनजस्तै भएका नेपालका निजी क्षेत्र दोस्रो सातापछि भने खुलेर सहयोगमा जुट्न थालेका छन् ।

फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले सामाजिक सञ्जालमा सहयोगका लागि आह्वान गरेपछि करिब ३ करोड उठिसकेको छ । बतास फान्डेसनले २५ लाख राखेको छ । त्यस्तै सोही अभियानका लागि व्यवसायी क्याबिनेट श्रेष्ठले २५ लाख, केसी ग्रुपले २५ लाख, देबबहादुर ज्वारचनले २५ लाख, सुशील प्रधानाङ्गले २५ लाख, पुष्पज्योति ढुंगानाले २५ लाख, नारायण पौडेलले २५ लाखलगायतले सहयोग घोषणा गरिसकेका छन् । बतासको आह्वानमा करिब ३ सय जनाले सहयोगको घोषणा गरेका छन् । 

यो दोस्रो चरणको कोभिड पहिलाको तुलनामा अलि जटिल देखिएकाले दोस्रो चरण देखिने बित्तिकै निजी क्षेत्रका संस्था, व्यवसायी र व्यावसायिक घरानाहरु बाहिर आउन समस्या परेको हो । यस्तो अवस्था कल्पना पनि गरिएको थिएन । र, पनि हप्तादिनभित्र निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा काम गर्ने गरि बाहिर आएको छ । 

पहिलो चरणमा सरकारलाई नगद र जनतालाई राहत वितरणमा पहिला निजी क्षेत्र नै लागेको थियो । सरकारले आह्वान गरेको कोषमा निजी क्षेत्रले करोडौं जम्मा गरेको थियो । अहिले पनि विभिन्न व्यावसायिक घराना र निजी क्षेत्रको संस्थाहरुले आफ्नो तर्फबाट सहयोग र राहत दिइरहेका छन् । व्यवसायीहरुले यस्तो जटिल समयमा पनि आपूर्ति र वितरणमा समन्वय गरेर काम गर्दा बजारमा कुनै पनि बस्तुको अभाव भएन । यस्तो बेला सबैजना डराएर घरघरमै बसेको भए, बजारमा अभाव भएर अर्काे हाहाकार हुन्थ्यो । मूल्यबृद्धि र कालोबजारी पनि भएको छैन । निजी क्षेत्र हरेक विपद् र महामारीमा सरकार र जनताका लागि सोचेर नै सहयोग, राहतमा अग्रपंक्तिमा खटिरहेको छ । 

निजी क्षेत्रले नै सहयोग गरेर विभिन्न जिल्लामा अक्सिजन प्लान्टदेखि सिलिण्डहरुमा सहयोग पुगिरहेको छ । अक्सिजन सिलिण्डर र कन्टेन्ट्रक्टर अभाव हुँदा निजी क्षेत्रले नै आयात गरेर वितरण गरिरहेको छ । देशभर रहेको उद्योग बाणिज्य महासंघका शाखाहरुले स्थानीय रुपमा राम्रो समन्वय र सहयोग पुराइरहेको प्रतिवेदन हामीले पाइरहेका छौं । 

व्यवसायीहरुले व्यक्तिगत रुपमा सहयोग पुराइरहे पनि उनीहरु आबद्ध संस्थाहरुबाट पनि सामूहिक सहयोग र राहतमा काम भैरहेको छ । 
नेपाल उद्योग बाणिज्य महासंघले काठमाडौंको तीन ठाउँमा आइसुलेसन सेन्टर स्थापना गरेको छ । एकसयभन्दा बढि बेडसहित महासंघले आइसुलेसन सेन्टर स्थापना गरेको हो । ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान’ अन्तर्गत विभिन्न गतिविधीहरु गरेको छ । महासंघले वैशाख २६ गतेदेखि यस्तो अभियान थालेको हो । त्यस्तै भाइबरबाट डक्टरसँग परामर्श लिन सकिने सेवा पनि महासंघले सुरु गरेको छ । 

त्यस्तै नेपाल उद्योग परिसंघले ८ लिटर क्षमताको २०० थान अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरिसकेको छ । परिसंघको सदस्य संस्था होङ्सी–शिवम् सिमेन्टमार्फत सरकारलाई उपलब्ध गराएको हो । परिसंघले उपलब्ध गराएको सामग्रीको बजार मूल्य करिब २ करोड रहेको छ । 

त्यस्तै नेपाल चेम्बर अफ कमर्शले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आपतकालिन स्वास्थ्य प्रयोजनका लागि भनेर चेम्बरले एम्बुलेन्स सेवा उपलब्ध गराएको जनाएको छ । त्यस्तै चेम्बरले काठमाडौंको नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । 
यसैगरि गैरआवासीय नेपाली संघले विभिन्न मुलुकमा समन्वय गरेर अक्सिजन सिलिण्डरलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पठाइरहेको छ । 

कमलपोखरीको अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना

कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।  कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टिन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

अग्रवाल  सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसोलेशन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरेका हुन् । आइसोलेसन उद्घाटन गर्दै राजदूत क्वात्राले कोभिड १९ को महामारी दक्षिण एसियामा तिव्र रुपमा फैलिएको भन्दै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताए । उनले कोभिड १९ विरुद्धको लडाईमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

उनले  भने– ‘भारतले महामारीका विरुद्ध लड्न नेपाललाई अग्रसर रुपले सहयोग गरिरहेको छ । भारतबाट २३ लाख डोज कोभिशिल्ड खोप नेपाल आइसकेको छ । ८/१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने छ । अस्पतालमा अक्सिजनको कमी नहोस् भन्ने छ ।’

आइसोलेसन सेन्टर उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टर मार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताए ।

आइसोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्नेगरी व्यवस्थित गरिएको छ । प्रति कोठामा दुईजना बस्ने गरी १८ वटा कोठा बनाइएको छ ।